[Unicode]  युनिकोड के हो? Home | Site Map | Search

युनिकोड के हो?

युनिकोडले प्रत्येक वर्णलाई अलग-अलग नम्बर प्रदान गर्दछ,
चाहे कुनै पनि प्ल्याटफर्म होस्,
चाहे कुनै पनि प्रोग्राम होस्,
चाहे कुनै पनि भाषा होस्।

कम्प्युटरहरुले मूल रूपमा नम्बरहरुसँग मात्र सम्बन्ध राख्दछन्। तिनीहरुले प्रत्येक अक्षर र वर्णलाई अलग-अलग नम्बर निर्धारण गरेर संग्रह गर्दछन्। युनिकोडको आविष्कार हुनुभन्दा अगाडि यस्ता नम्बरहरु दिनका लागि सयौँ विभिन्न संकेतन(encoding) प्रणालीहरु थिए। कुनै पनि संकेतनमा पर्याप्त वर्णहरु हुँदैनथे; उदाहरणको लागि, एउटै युरोपेली संघलाई आफ्नो सबै भाषाहरु समेट्न अनेक विभिन्न संकेतनहरुको आवश्यकता हुन्छ। अंग्रेजी जस्तो भाषामा पनि सबै अक्षरहरु, विराम चिन्हहरु र सामान्य प्रयोगमा आउने प्राविधिक चिन्हहरुको लागि एउटा मात्र संकेतन पर्याप्त हुँदैनथ्यो।

यी संकेतन प्रणालीहरु एक-अर्कासँग मिल्दैनन् पनि। अर्थात्, दुइटा संकेतनले दुई फरक अक्षरका लागि एउटै नम्बर प्रयोग गर्न सक्छन्, वा एउटै अक्षरको लागि फरक नम्बर प्रयोग गर्न सक्छन्। कुनै पनि कम्प्युटर (विशेष रूपमा सर्भरहरु) ले विभिन्न संकेतनहरुलाई समर्थन गर्नुपर्ने हुन्छ; फेरि पनि जब दुई विभिन्न संकेतनहरु वा प्ल्याटफर्महरु बीच डाटा पठाइन्छ, तब त्यो डाटा सधैं खराब हुने जोखिममा रहन्छ।

युनिकोडले यी सबै कुराहरुलाई परिवर्तन गरिरहेको छ!

युनिकोडले प्रत्येक वर्णलाई अलग-अलग नम्बर प्रदान गर्दछ, चाहे कुनै पनि प्ल्याटफर्म होस्, चाहे कुनै पनि प्रोग्राम होस्, चाहे कुनै पनि भाषा होस्। युनिकोड स्ट्यान्डर्डलाई एप्पल, एच.पि., आइ.बि.एम., जस्टसिस्टम्स, माइक्रोसफ्ट, ओरेकल, एस.ए.पि, सन, साइबेस, युनिसिस जस्ता उद्योगका प्रमुख कम्पनीहरु र अरु थुप्रै ले अपनाएका छन्। युनिकोडको आवश्यकता आधुनिक मानदण्डहरु, जस्तै- एक्स.एम.एल., जाभा, एक्मा-स्क्रिप्ट (जाभा-स्क्रिप्ट), एल.डि.ए.पि., कोर्बा 3.0, डब्लु.एम.एल. को लागि हुन्छ र यो आइ.एस.ओ./आइ.इ.सि. 10646 लाई लागू गर्ने आधिकारिक तरिका हो। यसलाई थुप्रै अपरेटिङ सिस्टमहरुले, सबै आधुनिक ब्राउजरहरुले र अरु थुप्रै उत्पादनहरु ले समर्थन गरेका छन्। युनिकोड स्ट्यान्डर्डको उत्पत्ति र यसका सहायक उपकरणहरुको प्राप्यता हालकै अति महत्त्वपूर्ण विश्वव्यापी सफ्टवेयर प्रविधिका चलनहरु मध्ये हुन्।

युनिकोडलाई क्लाइन्ट-सर्भर अथवा मल्टि-टियर एप्लिकेशनहरुमा र वेबसाइटहरुमा समावेश गर्नाले पुराना वर्णका सेटहरुको प्रयोगको तुलनामा खर्चमा अत्यधिक बचत हुन्छ। युनिकोडले एउटै सफ्टवेयर उत्पादन वा एउटै वेबसाइटलाई पुन: इन्जिनीयरिंग नगरिकन विभिन्न प्ल्याटफर्महरु, भाषाहरु र देशहरुमा उपयोग गर्न मिल्ने बनाउँछ। यसले गर्दा डाटालाई बिना कुनै बाधा विभिन्न प्रणालीहरुबाट भएर लैजान सकिन्छ।

युनिकोड कन्सर्शिअमको बारेमा

युनिकोड कन्सर्शिअम को स्थापना आधुनिक सफ्टवेयर उत्पादनहरु र मानदण्डहरुमा पाठको प्रस्तुतिलाई निर्दिष्ट गर्ने युनिकोड स्ट्यान्डर्डको विकास, विस्तार र प्रयोगलाई बढाउनको लागि गरिएको थियो। यो मुनाफा वितरण नगर्ने 501(c)(3) परोपकारी संगठन हो। यसको सदस्यहरुमा कम्प्युटर र सूचना उद्योगका विभिन्न निगम र संगठन समावेश छन्। यसलाई सदस्यता शुल्क र अनुदानले आर्थिक सहयोग गर्दछ। युनिकोड कन्सर्शिअमको सदस्यता विश्वमा कतै पनि स्थित ती संगठन र व्यक्तिहरुको लागि खुला छ जसले युनिकोडलाई समर्थन गर्दछन् र यसको विस्तार र कार्यान्वयनमा सहयोग गर्न चाहन्छन्।

अधिक जानकारीको लागि शब्दावली, प्राविधिक परिचयउपयोगी स्रोतहरु हेर्नुहोस्।

Nepali translation by Niraj Paudel.